काठमाडौं। राशिद खानको अर्धशतकका बाबजुद श्रीलंकसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ।
शनिबार भएको क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो। श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो।
नेपालका ओपनरद्वय सन्दीप जोरा र लोकेश बमले राम्रो सुरुआत गर्न सकेनन्। लगातार दुई अर्धशतक प्रहार गरेका कप्तान सन्दीप शून्य रनले पेभिलियन फर्किएपछि नेपालको इनिङ्स ध्वस्त भएको थियो। तीन बल खेलेका लोकेश एक छक्का प्रहार गर्दै आउट भए।
विवेक यादव पाँच रनमा पेभिलियन फर्किँदा नारायण जोशीले १३ रनको योगदान दिए। प्रतिश जिसी पनि शून्य रनमा आउट हुँदा राशिदले अर्धशतकीय इनिङ्स खेलेका थिए।
१८ बल खेलेका उनले आठ छक्का र एक चौकासहित ५५ रन बनाए। यद्यपि, उनको यो इनिङ्स नेपाललाई जित दिलाउन पर्याप्त बनेन। श्रीलंकाका लाहिरु समारुकोन र थारिन्दु रत्ननायकेले समान दुई विकेट लिए। लाहिरु मधुसंका र धनान्जय लक्क्षनको नाममा समान एक विकेट रह्यो।
नेपालले समूहचरणमा इङ्ल्यान्डलाई ६ विकेट र अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।