काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) को सोल, दक्षिण कोरियामा आयोजित वार्षिक अवार्ड समारोहमा ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर– गोल्ड’ प्राप्त गरेको छ।
‘फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) र एएफसीको मार्गदर्शन अनुसार विधान र संहिताहरू विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकोमा हामीलाई एएफसी अवार्ड दिइएको हो,’ एन्फाका महासचिव किरण राईले भने, ‘पारदर्शिता र जबाफदेहिता एन्फाको मुख्य सिद्धान्तको रूपमा रहेको छ, जसलाई हामीले स्थापित गरेका छौं। यसैका निम्ति एन्फाले मनोनयनपछि एएफसी गोल्ड अवार्ड जितेको हो, जसले हामी सबै नेपालीलाई खुसी दिएको छ।’
सन् २०२३ मा नेपालमा भएका साफ यु १९ च्याम्पियनसिप, साफ महिला यु १६ च्याम्पियनसिप र पेरिस ओलम्पिक २०२४ एएफसी छनोट फुटबल प्रतियोगिता आयोजनालाई पनि एन्फाले एएफसी अवार्ड जित्नुको आधार भएको महासचिव राईले बताए।
एएफसीका ४७ सदस्यदेशमध्ये विभिन्न क्याटगोरीमा नेपालसहित चार देशले अवार्ड जितेका छन्। जापानले ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर– प्लेटिनम’ अवार्ड जित्यो भने थाइल्यान्डले डायमन्ड अवार्ड हात पार्यो। त्यस्तै, रुबी अवार्ड लाओसको पोल्टामा पर्यो।