काठमाडौं। नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्न श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकालाई चुनौती पेस गर्नेछ। खेल दिउँसो १:३५ बजे हुनेछ। शनिबार बिहान भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै पोल ‘बी’ मा शतप्रतिशत जित हात पारेको थियो। नेपालको यो लगातार दोस्रो जित हो। नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा श्रीलंकासँगको भेट पक्का गरिसकेको थियो।
नेपाल आफ्नो पोलको शीर्ष स्थानमा रह्यो। शतप्रतिशत जितसहित नेपालले चार अंक जोड्यो। इङ्ल्यान्डलाई पहिलो खेलमा ३४ रनले हराएको अस्ट्रेलियाले पनि क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।
पोल ‘डी’ मा रहेको श्रीलंकाले भने ओमानलाई चार विकेट र बंगलादेशलाई १८ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।