बुटवल। प्रथम कपिलबस्तु जिल्ला लिगको उपाधि गोल्डन स्टार्स युथ क्लबले जितेको छ। टाइब्रेकरमा शान्ति सृजनालाई ४-३ ले पराजित गर्दै गोल्डन स्टार्सले उपाधि हात परेको हो। निर्धारित खेल १-१ मा सकिएको थियो।
पहिलो हाफको २३औं मिनटमा शान्ति सृजनाले सुजन खत्रीको गोलमार्फत अग्रता लिएको थियो। उक्त गोलसँगै पहिलो हाफ १-० को नतिजामा टुंगियो। दोस्रो हाफको ४१औं मिनटमा गोल्डन स्टार्सलाई मिलन रानामगरले बराबरीमा ल्याए।
टाइब्रेकरमा गोल्डन स्टार्सका मनिस पुन मगर, अरुण चौधरी, नवीन गिरी र चन्द्र पुन मगरले गोल गरे। शान्ति सृजनाका मन्जित थारु, आयुष राना, भेषराज थारुले गोल गरे। तर, दिलिप पुन र भीम थारुको प्रहार बाहिरियो।
विजेता गोल्डन स्टार्सले ५५ हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता शान्ति सृजनाले ३० हजार रुपैयाँ चित्त बुझायो।
म्यान अफ द म्याच गोल्डन स्टार्सका मिलन रानामगर चुनिए। प्रतियोगिताको उत्कृष्ट फरवार्ड गोल्डन स्टार्सका मनिष घोषित भए। उपविजेता भएपनि व्यक्तिगत पुरस्कारमा शान्ति सृजनाले एकतर्फी कब्जा जमायो। उत्कृष्ट गोलकिपर बिपिन ठकुरी, उत्कृष्ट डिफेन्डर केशव पुन, सर्वाधिक गोलकर्ता मन्जित थारु (७ गोल) र उदयमान खेलाडी आयुष राना घोषित भए।