बारा । दशौ संस्करणको सिमरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज (मंगलबार) दुई 'ए' डिभिजनका क्लब रुस्लान थ्री स्टार र सिएमजी संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगितामा बाई पाएको थ्री स्टार र संकटाबीचको खेल सिमरा रंगशालामा दिउसो २:३० बजे सुरु हुनेछ । र, दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
दुईबीचको विजेताले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । सोमबार नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लबले सेमिफाइनल यात्रा तय गरिसकेको छ ।
राजधानीमा हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो भएको संकटाले तेस्रो स्थानको थ्री स्टारलाई २–१ गोलले हराएको थियो ।
नव जनजागृति क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफि प्राप्त गर्नेछ ।