काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय महिला टोलीलाई पनि प्रो–लाइसेन्सवाला विदेशी प्रशिक्षक आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उक्त कुरा बताएका हुन्। नेपालमा प्रो–लाइसेन्सवाला प्रशिक्षक कोही पनि छैनन्। त्यसैले साफ महिला च्याम्पियनसिप २०२४ मा एएफसी ‘ए’ लाइसेन्सवाला राजेन्द्र तामाङले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए।
‘हामीलाई प्रो–लाइसेन्सवाला विदेशी प्रशिक्षक नै चाहिन्छ। तर, हामीसँग छैन। त्यसैले एन्फाबाटै हामी भविष्यमा त्यो मिलाउँदैछौं,’ उनले भने।
पहिला एक विदेशी प्रशिक्षकलाई सरकारले मासिक पाँच लाख रुपैयाँ सहयोग दिने गरेको उनले स्मरण गराए। तर, अहिले त्यो सहयोग रोकिएको उनको भनाइ थियो।
‘पहिला एक विदेशी प्रशिक्षकलाई मासिक पाँच लाख दिने व्यवस्था थियो। तर, अहिले रोकियो। दुई विदेशी प्रशिक्षकलाई समयअनुसार मासिक पैसा छुट्टाइदिँदा हाम्रो खेलाडीहरूले धेरै सिक्ने मौका पाउँथे,’ उनले भने।
एन्फाले सन् २०२७ या २०३१ मा विश्वकप खेल्ने लक्ष्य लिएको छ। तर, तयारीमा भने अहिलेसम्म जुट्न सकेको छैन। करिब दुई हप्ताको तयारीमा साफ खेलको महिला टोली फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौंपल्ट उपविजेतामा सीमित भएको थियो।