माङसेबुङ। इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८१’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ९ देखि सञ्चालन हुने भएको छ।
बिहीबार माङसेबुङस्थित सरस्वती माविको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह २०८१ को अवसरमा मंसिर ९ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरू सहभागी हुने आयोजक आत्म पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए।
प्रतियोगितामा नेपालको आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक युवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एमएफसी दार्जिलिङ पाहुना टोलीको रूपमा खेलमा सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन्।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन्।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ।
प्रतियोगितामा अतिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनु काँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरू समेत सञ्चालन हुनेछ।
आत्मा पवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८१ को संयुक्त संयोजनमा प्रतियोगिता सञ्चालन हुनेछ।
खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।