काठमाडौं। नेपाली टोलीकी मिडफिल्डर प्रीति राईले खेलाडीहरूले पाउनुपर्ने साथ सहयोग सरकारबाट नपाएको गुनासो गरेकी छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप २०२४ मा बंगलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी तथा प्रशिक्षकलाई बोलाएर भेटघाट गरेका थिए।
भेटको क्रममा प्राय: खेलाडी मध्यम वर्गका भएकाले आर्थिक समस्या कै कारण खेलमा आफूलाई फोकस गर्न नसकेको प्रीतिले बताएकी थिइन्। यसमा सरकारबाट पाउनुपर्ने साथ सहयोग पनि नपाएको उनको गुनासो थियो।
‘खेलाडीहरूलाई हरेक कुरामा साथ दिनुपर्ने हो। तर, अहिलेसम्म पाएका छैनौं। इमोस्नली सपोर्ट भयो भने हामी पुग्ने यहीसम्म मात्रै हो। त्यसैले हामीलाई खेलको मात्रै टेन्सन होस्, अन्य कुनै कुराको नहोस्। पारिवारिकदेखि बाहिरी कुराको टेन्सन लिनुपर्दा हाम्रो खेल नै बिग्रिरहेको हुन्छ,’ उनले भने।
अहिले खेलाडीलाई खेलुन्जेल मात्रै हो भन्ने विचार मनमा बसिसकेको उनले बताइन्। त्यसैले त्यस्तो गलत विचारलाई हटाउन पनि आर्थिक सहयोगदेखि सबै कुरा सरकारले गर्दिनुपर्ने उनको माग थियो।
‘श्रीलंकाको खेलसम्म बाहिरी कुराले मेन्टली प्रेसरमा थिएँ। त्यसैले राम्रो खेल्न पनि सकेको थिइन्। मन लगाएर खेल्नसक्ने वातावरण चाहिँ तपाईहरूले बनाइदिनुपर्छ। अहिले खेलुन्जेल मात्रै राम्रो हो भन्ने हामीलाई भइसकेको छ,’ उनले भनिन्।
प्रीतिले साफ च्याम्पियनसिपमा तीन गोल गरेकी थिइन्। नेपालले माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित निकाल्दा उनले ह्याट्रिक गरेकी हुन्। यस्तै, सेमिफाइनलमा भारतविरुद्ध सावित्रा भण्डारीले गरेको गोल र अमिशा कार्कीले फाइनलमा बंगलादेशविरुद्ध गरेको गोलमा पनि उनले असिस्ट गरेकी थिइन्।