काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सीमित भएसँगै उनी व्यवसायिक फुटबल खेल्न फ्रान्स लागेकी हुन्।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी सावित्राले साफमा तीन खेल मात्रै खेलिन्।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल (५५औं) को कीर्तिमान बनाएकी साम्बा गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध भएकी थिइन्। उनलाई यो साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि (फिफा विन्डो) मा नरहेकोले पनि क्लबले छाड्न अस्वीकार गरेको थियो।
त्यसैले समूहचरणमा भुटानविरुद्धको खेल उनले गुमाएकी थिइन्। उक्त खेलमा नेपालले भुटानसँग ऐतिहासिक रूपमा बराबरी खेलेको थियो। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा भने आराम दिएका थिए। उक्त खेलमा नेपाल ११–० ले विजयी भएको थियो।
यस्तै, समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रिँदा उनले ६–० को जितमा एक गोल गरेकी थिइन्। भारतविरुद्धको सेमिफाइनलमा पनि उनले नेपाललाई पेनाल्टी सुटआउटसम्म पुर्याउन निर्णायक गोल गरिन्।