काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्दैछ ।
नेपाली टोली आज अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदसीय नेपाली टोली त्यसतर्फ जाने छन् ।
युएईसंगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् । अविनाश बोहरा,भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् ।
नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन् । विरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठिक हुन ३- ४ हप्ता लाग्ने बताईएको छ ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ ।
युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ - १ को बराबरी भएको थियो ।
नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।
नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
सोमपाल कामी
सन्दीप जोरा
वैकल्पिक खेलाडी :
सुशन भारी
ललित भण्डारी
बिक्रम सोब