काठमाडौं। पाँचपल्ट साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्नु र ती सबैमा चुक्नु। यो दुर्भाग्यपूर्ण घटना कसैसँग जोडिन्छ भने त्यो नेपाली महिला फुटबलसँगै हो। त्यसैले त भनिन्छ– यो टोली एकदमै अभागी छ। यसपल्ट यही टोलीलाई त्यो ‘ट्याग’ मेटाउने अवसर जुरेको छ। र, त्यो पनि बंगलादेशसँग अघिल्लो हारको बदला लिँदै।
बंगलादेश त्यही टोली हो, जसले नेपाललाई अघिल्लो संस्करणको फाइनलमा रोक्दै उपाधि जितेको थियो। त्यी संस्करण त हो बंगलादेशले साफ महिला च्याम्पियनसिपमा इतिहास कोरेको। लगातार दोस्रोपल्ट फाइनलमा पुग्दा यिनै टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भिड्नेछन्। तर, यसपल्ट बंगलादेशको लक्ष्य फेरिएको छ।
बंगलादेश उपाधि रक्षा गर्दै आफू पनि भारत र नेपालभन्दा कमजोर नरहेको सन्देश दिन चाहन्छ। नेपालको लक्ष्य भने सदाबहार जस्तै छ, पहिलोपल्ट उपाधि जितेर इतिहास बनाउन]। यस्तै भन्छिन्, कप्तान अञ्जिला तुम्बापो सुब्बा,‘गत संस्करणमा पनि हामी बाङ्लादेशसँग पराजित भएका थियौं। यसपल्ट पनि सोही प्रतिद्वन्द्वी छ। तर, हामीले बदला लिनेभन्दा पनि च्याम्पियन बन्ने अवसरका रूपमा लिएका छौं।’
सन् २०१० मा बंगलादेशको कक्स बजारबाट सुरु भएको प्रतियोगितादेखि नै नेपाललाई दाबेदार मानिँदै आएको थियो। तर, सेमिफाइनलसम्म नेपालले बलियो दाबेदारी प्रस्तुत गरे पनि सन् २०१६ को पाँचौं संस्करणबाहेक अन्यको फाइनलमा उपाधि जित्न सक्नेगरी चुनौती भने दिन सकेको छैन।
पहिलोदेखि तेस्रो संस्करणसम्म भारतसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाल चौथो संस्करणमा सेमिफाइनलमै रोकिएको थियो। त्यसमा पनि भारत नै हो बाधक बनेको। तर, पाँचौंदेखि भने नेपालले पुनः लय समातेको छ। अझ दुईपल्ट फाइनलमा स्थान बनाउन त पटक पटक उपाधि भिडन्तमा बाधक बनेको भारतलाई नै पाखा लगाएको छ।
सन् २०१९ मा विराटनगरमा भएको फाइनलमा भारतसँग नेपाल ३–१ ले पराजित भएको थियो। त्यसको तीन वर्षपछि सेमिफाइनलमा १–० को ऐतिहासिक जित निकाल्दै नेपालले पाँचौंपल्ट फाइनल पुगेको थियो। तर, त्यसमा भने बंगलादेश बाधक बन्दियो।
समूह चरणदेखि सेमिफाइनलसम्म दमदार खेल प्रदर्शन गरेको नेपालले त्यही बेला नै हो बंगलादेशसँग पनि पहिलो हार बेहोरेको। त्यो पनि ३–१ को। अहिले फुटबल निकै फेरिएको छ। बंगलादेशलाई पाकिस्तानले र नेपाललाई भुटानले समूह चरणमा गोलरहित बराबरीमा रोकेको छ। त्यसैले अहिल्यै नै कुन टोली फाइनलमा भारी पर्ला भनेर उसै भन्न सक्ने आधार पनि देखिँदैन। तर, कप्तान अञ्जिला भन्छिन्, ‘हाम्रो टोली राम्रो लयमा छ। यसपल्ट जित्न सकेनौं भने अझै ५–१० वर्ष पर्खनुपर्ने हुन्छ। त्यसैले जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं।’
उनले भनेजस्तै यो टोली अहिलेसम्मको अनुभवी छ। अझ यो टोलीमा रहेकी सावित्रा भण्डारी र रेखा पौडेलसँग त दक्षिण एसियाभन्दा बाहिर खेलको अनुभव पनि छ। तर, सात गोल गरेकी रेखाले भारतविरुद्ध संयमता गुमाउँदा लगातार दुई पहेंलोसहित रातो कार्ड पाएकी थिइन्। त्यसैले फाइनलमा उनको अभाव खड्किन सक्छ।
तर, नेपाली टोलीमा परेको बेला गोल निकाल्न सक्ने सावित्रासँगै रश्मिकुमारी घिसिङ, अमिशा कार्की सविता रानामगर र प्रीति राई पनि टोलीमा छन्। त्यसैले इतिहास रच्न संघारमा पुगेको नेपाली टोलीलाई रेखाको अनुपस्थितिले केही असर नगर्ने मुख्य प्रशिक्षक राजेन्द्र तामाङको विश्वास छ। ‘हामीसँग टोलीमा ११ जना मात्रै छैनन्। अन्य खेलाडी पनि छन्। त्यसैले रेखाको अभाव हुन नदिन हामीले विकल्पमा तयारी गरेका छौं,’ उनले भने।
बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलर वेस्ट ह्यामका पूर्वमिडफिल्डर हुन्। साफमा पनि उनी जत्तिको अनुभवी प्रशिक्षक कोही छैनन्। त्यसैले उनी युरोपको जस्तै शैलीमा फुटबल खेलाउन रुचाउँछन्। तर, समस्या के छ भने बंगलादेशको टोलीमा पहिलाजस्तो एकता छैन। खेलाडी र प्रशिक्षकमा मतभेद छ। त्यो मतभेद फाइनलको अघिल्लो दिनसम्म नटुंगिएको कप्तान सविना खातुनको भनाइबाट नै स्पष्ट हुन्छ।
उनलाई सोधिएको थियो– पहिलाको टोली राम्रो कि अहिलेको? उनले फ्याट्टै बंगाली भाषामा उत्तर दिइन्, ‘पहिलाको।’ हुन पनि हो। पहिलाको टोलीमा निकै एकता थियो। त्यही एकताको बलबुतामा बंगलादेशले इतिहास कोरेको थियो। तर, अहिले बटलर कप्तान सविनालाई नै बेन्चमा राख्न खोज्छन्। अझ मारिया मान्डा, मसुरा परभिण र सञ्जिदा अख्तरजस्ता सिनियर खेलाडीलाई उनी मैदान उतार्नै रुचाउँदैनन्।
उनको आफ्नै ‘लोजिक’ छ, अहिलेलाई मात्रै हेरेर हुँदैन। पछिसम्म खेल्ने भएको कारण अहिलेदेखि नै युवा खेलाडीलाई मौका दिएर टिम बलियो बनाइराख्नुपर्छ तर, मुख्य प्रतियोगितामा त्यही पनि ठूला टिमविरुद्ध उनले कम अनुभवी युवा खेलाडीलाई मौका दिँदा सविना मात्रै होइन, मोनिका चक्मासमेत बटलरसँग असन्तुष्ट देखिन्छन्। त्यसैले टोलीभित्र फुट सिर्जना भएको छ। त्यही मौकाको फाइदा उठाउँदै नेपालले पहिलोपल्ट साफको उपाधि जित्दै इतिहास बनाउन सक्ने छ।