काठमाडौं। स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन्।
म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन्। यस्तै, उनले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।
‘मेरो लागि अविश्वसनीय रात,’ रोड्रीले भने, ‘म सधैँ हरेक खेलमा सुधार गर्ने प्रयास गर्छु।’ गत महिना एसीएलमा चोट लागेपछि उनले यो सिजन खेल्न आएका छैन। अवार्ड समारोहमा उनी बैसाखी टेकेर आएका थिए।
रियल मड्रिडले अवार्ड कार्यक्रम बहिस्कार गरेको छ। रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताएका भिनिसियस जुनियरलाई अवार्डको प्रमुख दाबेदार मानिएको थियो।
तर, आफ्नो खेलाडीले उक्त अवार्ड नजितेको थाहा पाएसँगै रियलले पेरिसमा आयोजित कार्यक्रम केही घण्टा अगाडि बहिष्कार गरेको थियो। भिनिसियस दोस्रो हुँदा आक्रामक मिडफिल्डर जुड बेलिङ्घम तेस्रो र डानी कार्भाजल चौथो स्थानमा रहे।