काठमाडौं। इङ्लिस प्रिमियर लिगमा खराब सुरुआत गरेपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ।
डच प्रशिक्षकले आफ्नो साढे दुई वर्षको कार्यकालमा दुई घरेलु कप जितेका थिए। तर, २० पटकको प्रिमियर लिगमा च्याम्पियन युनाइटेडलाई सिजनको सबैभन्दा खराब सुरुआत दिलाएका थिए।
९ लिग खेलमा तीन जितसहित युनाइटेड १४औं स्थानमा छ। आइतबार वेस्ट ह्यामसँग २–१ ले पराजित भएको खेल उनको अन्तिम हो। युनाइटेडले पछिल्ला आठ खेलमध्ये एकमा मात्र जित हात पारेको छ।
‘एरिक टेन हागले युनाइटेडको प्रशिक्षकको भूमिका छोडेका छन्,’ युनाइटेडले भनेको छ, ‘टेन हागका सहायक तथा क्लबका पूर्वस्ट्राइकर रुड भान निस्टेलरोयले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा कार्यभार सम्हाल्नेछन्।’