काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले साफ महिला च्याम्पियनसिपमा पूर्वकप्तान अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गरेकी छन्।
साफ च्याम्पियनसिप २०२४ आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा एक गोल गर्दै उनले नेपाली फुटबलको आफ्नो आइडल अनुको कीर्तिमान भेट्टाएकी हुन्।
खेलको ६६औं मिनेटमा प्रीति राईको थ्रु बलमा सावित्राले गोल गरेकी थिइन्। उक्त गोलसँगै नेपाल खेलमा फर्किएको थियो। योसँगै उनले साफमा २१ गोल पुर्याएकी छन्। अनुको नाममा पनि समान गोल छ।
यस्तै, पूर्वखेलाडी जमुना गुरुङको नाममा भने १९ गोल छ। नेपाल साफको फाइनलमा पुगिसकेको छ। त्यसैले बंगलादेशविरुद्ध कार्तिक १४ गते हुने खेलमा सावित्राले गोल गरे अनुको नाममा रहेको कीर्तिमान भंग हुनेछ।