काठमाडौं। नेपाल एफसी एसियन कप छनोटमा जितविहीन भएको छ। साउदी अरबमा अर्को वर्ष हुने प्रतियोगिताको छनोट खेल्न कतार पुगेको नेपाली टोली मंगोलियाविरुद्धको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
तर, मंगोलिया कमजोर टोली भएको कारण कम्तिमा नेपालले अन्तिम खेलबाट जितको आश गरेको थियो। यद्यपि, आइतबार राति भएको खेलमा नेपाल उक्त टोलीसँग १–० ले पराजित भएको हो। अघिल्ला दुई खेलमा पराजित भएको मंगोलियाली टोली ओडखु सोयोलको निर्णायक गोलसँगै जित लिएर स्वदेश फर्किएको छ।
नेपालले प्रतियोगिताभर १५ गोल बेहोर्दा दुई गोल मात्रै फर्काउन सक्यो। जापानसँग पहिलो खेलमा ९–२ ले हारेको नेपालले कतारसँग पनि उक्त सिलसिला जारी राख्यो। जित्नै पर्ने दोस्रो खेलमा नेपाल कतारसँग ५–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। मंगोलियाले भने कतारसँग २–० र जापानसँग ७–० को हार बेहोरेको थियो।