काठमाडौं। नेपालले एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल कतारको दोहास्थित एस्पायर एकेडेमीमा नेपाली समयअनुसार राति १०:३० बजे हुनेछ। नेपाल समूह ‘एफ’मा छ। नेपाल र मंगोलिया यो खेलअगाबै अर्को वर्ष साउदी अरबमा हुने एफसी यु–१७ एसियन कपमा छनोट हुन असफल भइसकेको छ।
नेपालले समूहचरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ को फराकिलो हार बेहोरेकोको थियो। नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले कप्तान सुवास बमको क्रसमा गोल गरेका थिए। तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन।
जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो। दाइचीले ह्याट्रिकसहित चार गोल गरे। यस्तै, हिरोता असादाले पनि ह्याट्रिक पूरा गर्दा मैबुकी कासाइ र कैजी चोनानले एक गोल थपे। दोस्रो खेलमा भने नेपाल घरेलु टोली कतारसँग ५–० ले पराजित भयो। मंगोलिया भने कतारसँग २–० र जापानसँग ७–० ले पराजित भएको थियो।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्। समूहको उपविजेताको पनि सम्भावना कायम रहने छ। तर, प्रतियोगिताबाट बाहिरसकेको कारण नेपाल र मंगोलिया अन्तिम खेलमा कम्तिमा जित हासिल गर्दै यो यात्रा यही समाप्तन गर्न चाहन्छन्।