काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले घरेलु टिम साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतलाई पराजित गर्दै अगाडि बढ्ने विश्वस व्यक्त गरेका छन्।
दशरथ रंगशालामा आइतबार भारतविरुद्ध भिड्ने नेपाली टिमलाई शुभकामना दिँदै कप्तान किरणले भने, ‘हाम्रो महिला टिमले राम्रो प्रदर्शन गरिरहेको छ। रंगशाला गएर महिला टिमलाई १२औं खेलाडीको रूपमा समर्थन गरौं।’
ताजिकिस्तानमा दुई सातापछि हुने त्रिदेसीय प्रतियोगिताको तयारीमा रहेका किरणले थपे, ‘महिला टिमले ११ पल्ट उपाधिनजिक पुगेर पनि जित्न (ट्रफी) सकेको छैन। यसपालि सेमिफाइनलमा भारतलाई हराएर साफ च्याम्पियनसिपको स्वर्णपदक जित्ने एउटा सपना साकार पार्ने फुटबलप्रेमीसहित हामी सबैले आशा गरेका छौं। सेमिफाइनल जितेर त्यो आशालाई सकारात्मक रूपले परिवर्तन गर्दै महिला टिमले खुसीको माहोल बनाइदिने पूर्ण विश्वस छ।’
नेपाली महिला टिमले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। दुई वर्षअघि दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको थियो।