काठमाडौं। नर्वेका प्रशिक्षक स्टेल सोलबाकेनले आर्सनलका कप्तान मार्टिन ओडेगार्डले घुँडाको चोटबाट पुनरागमन गर्न तयार रहेको बताएका छन्।
आर्सनलले आइतबार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँग खेल्दैछ। खेलको पूर्वसन्ध्यामा स्टेलले आफ्न मिडफिल्डर ओडेगार्ड मैदान उत्रिन तयार रहेको बताएका हुन्। सेप्टेम्बरमा आफ्नो देशको लागि खेल्दा उनी घाइते हुन पुगेका थिए।
‘अर्टेटाले के प्रतिक्रिया दिन्छन् त्यसमा निर्भर पर्छ। तर, ओडेगार्ड खेल्न तयार छन्,’ स्टेलले भने। यद्यपि, आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले ओडेगार्डलाई लिभरपुलविरुद्ध टोलीमा राख्ने या नराख्ने केही बताएका छैनन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्टेटाले बुकायो साका, रिकार्डो क्यालाफियोरी र जुरियन टिम्बर लिभरपुलविरुद्ध खेल्नेमा शंका रहेको बताए।
‘हामी कुनै न कुनै तरिकाले यी खेलाडीलाई उपलब्ध गराउन सक्दो प्रयास गर्नेछौं। तर, यो धेरै अनिश्चित छ,’ उनले भने।
साकाको ह्यामस्ट्रिङमा चोट लागेको छ। यसै साता च्याम्पियन्स लिगमा शाख्तर डोनेट्स्कविरुद्धको खेलमा क्यालाफियोरीको घुँडामा चोट लागेको थियो। यता, टिम्बर महिनाको सुरुदेखि खेलेका छैनन्।
सेन्टर ब्याक विलियम सालिबाले शनिबार बर्नमाउथसँग पराजित हुँदा रातो कार्ड पाएका थिए। त्यसैले लिभरपुलविरुद्धको खेल गुमाउने छन्।