पथरी। अफ्रिकन खेलाडी अजयी मार्टिन नायक बन्दा सिरहाको सलहेस युवा क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलवारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौं जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबसँग एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै सलहेसले ५–१ गोलको फराकिलोको जित निकालेको हो। योसँगै शनिबार झापा ११ फुटबल क्लब र सलहेस भिड्नेछन्।
सलहेसको जितमा अजयी मार्टिनले ह्याट्रिक गरे। आदित्य शाक्यले दुई गोल थपे। चित्लाङले चौथो मिनेटमा विदेशी खेलाडी हेनरीको गोलबाट अग्रता लिएको थियो। चित्लाङको उक्त अग्रता मध्यान्तरसम्म पनि टिक्न सकेन। पहिलो हाफको अतिरिक्त समयमा आदित्यले गोल फर्काएपछि खेल १–१ को बराबरीमा आयो। मार्टिन ६८औं मिनेटमा गोल गरेपछि सहलेसले २–१ को अग्रता लियो।
७८औं मिनेटमा आदित्यले व्यक्तिगत दोस्रो गोल गरे। चित्लाङमाथि लगातार आक्रमण बुनेको सहलेसका लागि ८६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका मार्टिनले अतिरिक्त समयमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे।
जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो। उनी नै म्यान अफ द म्याच घोषित भए।