काठमाडौं। इटालियन प्रशिक्षक रोबर्टो मान्सिनीले साउदी अरब छाडेका छन्।
सन् २०२३ को अगष्टमा उनले साउदीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर, सन् २०२१ मा इटालीको प्रशिक्षकका रुपमा युरोपियन च्याम्पियनसिप जितेका मान्सिनीले आपसी सहमतिमा क्लब छोडेका हुन्।
उनले खेलाडी र प्रशिक्षक दुवैको रूपमा आफ्नो करियरमा धेरै उपाधि जितेका छन्। इन्टर मिलान र म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षकसमेत रहिसकेका उनी साउदी अरबलाई यस वर्ष एसियन कपको उपाधि जिताउन असफल भए। साउदी अन्तिम १६ बाट बाहिरिएको थियो।
कतारमा भएको उक्त खेलमा दक्षिण कोरियाविरुद्ध पेनाल्टी सुटआउटमा पराजित हुनुभन्दा अघि नै मैदानबाट बाहिरिएपछि उनले गरेको व्यवहारले पनि विवाद निम्त्याएको थियो। पछि उनले माफी मागेका थिए। इन्टरको प्रशिक्षकको रूपमा उनले तीन इटालियन लिग उपाधि जितेका थिए। २०१३ मा सिटीलाई उनले प्रिमियर लिग जिताएका थिए। अन्तिम दिन सर्जियो अग्युरोको नाटकीय लेट गोलसँगै सिटीले उक्त सिजन उपाधि हात पारेको थियो।