काठमाडौं। स्पेनिस ला लिगाले बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेल अमेरिकाको मियामीमा खेलाउने तयारी थालेको छ।
ला लिगले अमेरिकाको आफ्नो साझेदार रिलेभेन्ट स्पोर्ट्ससँगको सहकार्यमा डिसेम्बरमा स्पेन बाहिर खेल आयोजना गर्न फिफासमक्ष स्वीकृति लिने प्रकृया थालेको हो।
लिगले पहिलो पटक पाँच वर्षअघि अमेरिकामा नियमित सिजनको खेल खेलाउने प्रयास गरेको थियो। तर, स्पेनको फुटबल महासंघ र खेलाडी युनियनको विरोधपछि उक्त योजना रद्द गरिएको थियो।
विदेशमा आफ्नो खेल आयोजना गर्नु अन्य देशमा लिग र यसको ब्रान्डलाई बढावा दिने लक्ष्य हो। शक्तिशाली इङ्लिस प्रिमियर लिगसँग रहेको अन्तरलाई कम गर्ने आशामा केही समयदेखि अन्तर्राष्ट्रिय स्तरमा ला लिगाले खेल आयोजना गर्ने प्रयास गरिरहेको छ। तर, सफल हुन सकेको छैन। आलोचकहरुले विदेशमा खेल्दा लिगमा अनुचित प्रतिस्पर्धा हुने बताउँदै आएका छन्।