काठमाडौं। नेपालले एफसी यु–१७ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ।
खेल कतारको दोहास्थित एस्पायर एकेडेमीमा नेपाली समयअनुसार साँझ ८:३० बजे हुनेछ। नेपाल समूह ‘एफ’मा छ।
नेपालले समूहचरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ को फराकिलो हार बेहोरेकोको थियो। नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले कप्तान सुवास बमको क्रसमा गोल गरेका थिए। तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन।
जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो। दाइचीले ह्याट्रिकसहित चार गोल गरे। यस्तै, हिरोता असादाले पनि ह्याट्रिक पूरा गर्दा मैबुकी कासाइ र कैजी चोनानले एक गोल थपे। यता, घरेलु टोली कतारले भने जैद फैजलको दुई गोलको मद्दतमा मंगोलियामाथि २–० को जित निकालेको थियो।
मंगोलिया र जापानले शुक्रबार नै एकआपसमा भिड्ने छन्। जापान तीन अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ। कतार समान अंकसहित दोस्रो स्थानमा रहँदा मंगोलिया र नेपाल अंकविहीन छन्।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्। समूहको उपविजेताको पनि सम्भावना कायम रहने छ। त्यसैले नेपाललाई अबका खेलमा शतप्रतिशत जितको खाँचो रहने छ।