सिमरा । विभागिय टिम नेपाल पुलिसलाई स्तव्ध पार्दै हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सिमरा रङ्गशालामा भएको संघर्षपूर्ण खेलको अन्तिम समयमा शेर्पाले पुलिस विरुद्ध २–० को जित दर्ता गर्यो । खप्तड गोल्डकपको उपाधि उचालेर धनगढीबाट सिमरा पुगेको पुलिस क्लब स्टार खेलाडी चल्न नसक्दो क्वाटरफाइनलबाटै घर फर्कन बाध्य भयो ।
हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले समान एक–एक गोल गरे ।
खेलको ८६ औं मिनटमा हिमालयनका लागि त्रिदेवले खाता खोलेपछि अतालिएको पुलिसविरुद्ध विश्वासले इन्जुरी समयको अन्तिम समयमा थप एक गोल गर्दै २–० को जित दर्ता गर्न सफल भए ।
पुलिसका तेज तामाङ, रवि पासवान, अभिषेक रिजाल जस्ता चर्चित खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । खेलमा पुलिसले हिमालयनविरुद्ध आकर्षक अवसर बनाउनै सकेन ।
शनिवार वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाईकल जित्न सफल भएका हिमालयनका विश्वास श्रेष्ठ पुलिस विरुद्धको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद हात पार्न सफल भए ।
हारपछि पुलिसका प्रशिक्षक अनन्त थापाले थकानका कारण खेलाडी चल्न नसकेको भन्दै हारलाई स्वभाविक रुपमा लिएको बताए । मोफसलमा लगातार प्रतियोगिता आयोजना हुँदा खेल्न गार्हो हुने गरेको उनको भनाई थियो ।
‘प्रतियोगिताका आयोजकहरुले पनि क्लबको बाध्यतालाई हेरेर प्रतियोगिता आयोजना गर्नुपर्छ’ थापाले भने । थाकेका खेलाडीले जति खेले त्यसबाट आफू सन्तुष्ट रहेको उनको भनाई थियो ।
हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले संघर्षपूर्ण जितबाट सन्तुष्ट रहेको बताए । ‘पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि जीतपछि सन्तुष्ट हुनैपर्छ’ उनले भने ।
शनिवार वीरगञ्जमा फाइलन खेलेका खेलाडीहरु भएकाले आफ्ना खेलाडी समेत थकित रहेको र टिमका केहि खेलाडी बाहिर भएकाले प्रदर्शन सोंचेजस्तो नभएको लिम्बुको भनाई छ । ‘सेमीफाइनलमा राम्रो खेल पस्कनेछौं’ लिम्बुले भने ।
मंगलबार अन्तिम क्वाटरफाईनलमा आठौं संस्करणको विजेता संकटाले थ्रिस्टार क्लबको सामना गर्नेछ ।