काठमाडौं। साफ च्याम्पियनसिपमा फेरि एक संयोग दोहोरिने भएको छ। त्यो के हो भने यसपल्टको साफमा पुरानै प्रतिद्वन्दी फाइनल पुग्न प्रतिस्पर्धा गर्ने भएका छन्।
गत संस्करण पनि ठ्याक्कै यही समीकरण बनेकाे थियाे। समूह ‘ए’ को विजेता बन्दै बंगलादेशले अन्तिम चारमा भुटानसँग प्रतिस्पर्धा गरेको थियो। त्यतिखेर नेपाल अर्को समूहको विजेता बनेको थियो भने भारत बंगलादेश रहेको समूहको उपविजेता।
दुई वर्षअघि त्रिपुरेश्वस्थित दशरथ रंगशालमै भएको उक्त प्रतियोगितामा नेपालसँग अपराजित रहेको भारतले पहिलोपल्ट हारको सामना गर्नुपरेको थियो। त्यसमा नायक भने रश्मिकुमारी घिसिङ भइहालिन्। उनले गरेको गोल निर्णायक हुँदा भारत स्तब्ध भएर घर फर्किन परेको थियो।
भारतले गत संस्करणको जस्तै बलियो लय समात्न सकेको छैन। उक्त संस्करणको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग भारत ३–० ले स्तब्ध बनेको थियो। यसपल्ट भने भारतले कम्तिमा एक गोल फर्कायो। तर, बालादेवीको त्यो एक गोलले भारतको ३–१ को हार टर्न सकेन।
अर्कोतर्फ नेपाललाई गत संस्करणजस्तो सहज भएन। सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरेपछि भुटानलाई ४–० ले पाखा लगाउँदै नेपालले एक खेलअगाबै अन्तिम चारमा स्थान बनाएको थियो। तर, यसपल्ट भने भुटान सप्राइज प्याकेज बन्दा नेपालले चारसम्मको यात्रा तय गर्न अन्तिम खेल कुर्नुपर्यो। यद्यपि, नेपाल ६–० ले बाजि मार्न सफल भयाे।
सेमिफाइनलका दुवै खेल आइतबार हुनेछन्। दिनकाे पहिला खेलमा बंगलादेशले भुटानकाे सामना गर्नेछ। याे खेल दिउँसाे १:३० बजे हुनेछन्। नेपाल र भारतबीचकाे खेल भने साँझ ६:३० बजे हुने तय छ।