काठमाडौं। भुटानले फिफा वरीयतामा सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजिनक गरेको नयाँ वरीयतामा भुटानले दुई स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा भुटान १८२औं स्थानमा छ। यसअघि भुटान १८४औं स्थानमा थियो। दक्षिण एसियाली राष्ट्रमा भुटानबाहेक बंगलादेशले पनि आफ्नो स्थान सुधार गरेको छ। बंगलादेश एक स्थान सुधार गर्दै १८५औं स्थानमा उक्लिएको छ। भुटान र बंगलादेशले गत सेप्टेम्बरमा फिफा विन्डोअन्तर्गत दुई मैत्रीपूर्ण खेल खेलेका थिए। पहिलो खेलमा भुटान १–० ले पराजित भएको थियो। तर, दोस्रो खेलमा भने भुटानले बंगलादेशमाथि १–० को जित निकाल्यो।
यी दुई टोलीबाहेक भारतले मात्रै आफ्नो वरीयता सुधार गरेको छ। दक्षिण एसियालीतर्फ शीर्ष स्थानमा रहेको भारत एक स्थान सुधार गर्दै १२५औं स्थानमा उक्लिएको छ। माल्दिभ्स १६३औं र नेपाल १७६औं स्थानमा कायम छन्। पाकिस्तान एक स्थान तल झर्दै १९८औं स्थानमा पुगेको छ। श्रीलंकाले पनि तीन स्थान गुमाएको छ। नयाँ वरीयतामा श्रीलंका २०३औं स्थानमा छ।