काठमाडौं। साबिक विजेता बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको अन्तिम खेलको पहिलो हाफमा भारतविरुद्ध दुई गोलको अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले भारतविरुद्ध ३-१ को अग्रता लिएको हो। बंगलादेशका लागि थोहुरा चक्माले दुई र अफिदा खाँडकरले एक गोल गरिन्। भारतका लागि बालदेवीले एक गोल फर्काइन्।
१०औं मिनेटमा मनिषाले सुनौलो अवसर खेर फ्यालिन्। आफ्नै खेलाडीले दिएको ब्याक पासलाई अगाडि बढेर गोलकिपर रुपना चक्माले रिलिज गर्न ढिला गरेकी थिइन्। उक्त बल मनिषासँग डिफ्लेक्ट भएर पोलनजिकबाट बाहिरियो।
१९औं मिनेटमा बंगलादेशले सुरुआती अग्रता लियो। कप्तान सविना खातुनको कर्नरबाट आएको बललाई भारतीय गोलकिपर पानथोई चनुले पञ्च गर्दै बचाउने प्रयास गरेकि थिइन्। तर, राम्रोसँग क्लियर हुन नसकेको बललाई अफिदा खाँडकरले सिक्स यार्डनजिकबाट चनुले गरेको प्रहार टप कर्नरबाट गोलमा परिणत भयो।
२६औं मिनेटमा ऋतु चक्माले एकल प्रयासमार्फत गरेको प्रहार बारमा लागेर फर्किँदा बंगलादेशले अग्रता दोब्बर बनाउने मौका गुमायो। ३०औं मिनेटमा अन्ततः बंगलादेशले अग्रता दोब्बर बनायो। लामो पासमार्फत आएको बललाई गोल लाइननजिबबाट तोहुरा खातुनले जाली चुमाइन्।
३५औं मिनेटमा भारतकी गोल मेसिन बालदेवी वान भर्सेस वानमा चुक्न पुगिन्। उनले अशालाता देवीको स्थानमा कप्तानी आर्म ब्यान्ड बाँधेर मैदान उत्रिएकी थिइन्। ४२औं मिनेटमा तोहुरा खातुनले व्यक्तिगत दोस्रो गोल गरिन्। सामसुनार जुनियरले मिलाइदिएको क्रसलाई तोहुराले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको बल सिधै जाली चुम्यो।
लगत्तै बालादेवीले भारतका लागि पहिलो गोल फर्काइन्। डालिमा छब्बरको क्रसलाई गोलकिपर रुपनाले पञ्च गर्दै बचाउने प्रयास गरेकी थिइन्। राम्ररी क्लियर हुन नसकेको बललाई बालादेवीले हेडिङमार्फत गोल गरिन्। विराटनगरमा सन् २०१९ मा भएको साफ महिला च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएकी डिफेन्डर छिब्बरले यही खेलमार्फत पुनरागमन गरेकी थिइन्। त्यसपश्चात व्यवसायिक लिग खेल्न क्यानडा गएकी उनले सन् २०२२ को पछिल्लो संस्करण गुमाएकी थिइन्।