काठमाडौं। च्याम्पियन्स लिग खेलिरहेको कुनै टोलीले अपत्यारिलो प्रदर्शन गरिरहेको छ भने त्यो हो, एस्टन भिल्ला। इङ्लिस प्रिमियर लिग क्लब भिल्लाले लगातार तीन खेलमा जित हात पारेको छ भने कुनै गोल खाएको छैन। अझ अधिकतम अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि च्याम्पियन्स लिगमा भिल्लाको कुनै पनि उपस्थिति राम्रो हुन सकेको थिएन। तर, भिल्लाले यसपल्ट भने बेजोड प्रदर्शन गरेको छ। मंगलबार घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा बोलोग्नामाथि २–० को जित निकाल्दै सन् १९८३ पछि युरोपको शीर्ष क्लब प्रतियोगिताको अभियानमा शतप्रतिशत जित कायम राखेको छ।
‘हामीले यहाँ जे निर्माण गरिरहेका छौं, त्यो आश्चर्यजनक छ,’ भिल्लाका कप्तान जोन म्याकगिनले भने। भिल्लाले स्विट्जरल्यान्डको योङ बोइजमाथि ३–० को जित निकालेको थियो भने पहिलो खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको थियो। लिगको तेस्रो चरणको खेल सकिँदा भिल्ला पहिलो स्थानमा छ भने अन्य कुनै पनि टोलीले ९ अंक पुर्याउन सकेका छैनन्।
‘हामी हरेक खेल गम्भीरतापूर्वक खेलिरहेका छौं। हामीमा एकाग्र छ र जिम्मेवारीपूर्ण तरिकाले खेलिरहेका छौं। टोली सबै कुरामा प्रगति र परिपक्व भइरहेको छ,’ भिल्लाका मुख्य प्रशिक्षक उनाई एमरी भन्छन्।
यो सिजन खासगरी २० वर्षीय कोलम्बियाली अन्तर्राष्ट्रिय झोन डुरानले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। पहिलो रोजाइका स्ट्राइकर ओली वाटकिन्सको स्थानमा बोलोग्नाविरुद्ध दुर्लभ सुरुआत गरेका डुरानले ६४औं मिनेटमा मोर्गन रोजर्सको क्रसमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
वाटकिन्सले १२ खेलमा भिल्लाका लागि सात गोल गरिसकेका छन्। तर, डुरानले गरेको गोलको उनले तारिफ गर्न भ्याए। त्यसमध्ये एक बायर्नविरुद्धको खेलमा लामो दूरीको अविस्मरणीय गोल थियो।
‘उसलाई परिवर्तन गर्ने सोचिरहेको थिएँ। तर, उसले गति बढायो र एक गोल गर्यो,’ एमरीले हाँस्दै भने, ‘यो शानदार थियो। उनले थप (समय) मागिरहेका थिए। थप गोल गर्न सक्छु भनेर उनले सोचिरहेका थिए।’
डुरान आफ्नो गोलपछि तुरुन्तै मैदानबाहिर बोलाइएकोमा खुसी थिएनन्। उनले रिसाएर डगआउटको सिटमा मुक्का प्रहार गरे। केही समयपछि उनी ड्रेसिङ रुमतिर लागे। तर, खेलको अन्त्यमा आफ्नो टोलीको उत्सवमा सामेल हुन फिर्ता आए।