काठमाडौं। इङ्ल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान तथा विकेटकिपर टम मुर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
सन् २०१६ देखि फर्स्ट क्लास ‘ए’ लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि लुम्बिनीमा अनुबन्धित भएका हुन्। २८ वर्षीय मुर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन्।
मुर्स काउन्टी, बिपिएल, एलपिएल, पिएसएललगायत विभिन्न लिगहरु खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन्। १२८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका उनले २३.३४ औसतमा २३२१ रन बनाएका छन्। उनको ८० रनको अविजित उच्चस्कोर छ।
फर्स्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले १२३ इनिङ्समा सात पटक ब्याटिङ गर्दै अविजित २६८१ रन बनाएका छन्। त्यस्तै, १०६ को सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ्स खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरिसकेका छन्।
कुल ५२४५ बलमा उनको औसत ब्याटिङ २३.१ छ। अहिलेसम्मको आफ्नो करिअरमा दुई शतक र आठ अर्धशतक बनाएका मुर्सले ३८५ चौका र ३९ छक्का प्रहार गरेका छन्।
‘उनको आगमनले टिमको ब्यालेन्स अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुनेछ,’ लुम्बिनीका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले भने।
मुर्सले लिस्ट ‘ए’ क्रिकेटमा २९ खेल खेलेका छन् जसमा २६ इनिङ्समा ६ पटक अविजित रहँदै ७७६ रन बनाएका छन्। ७६ को सर्वाधिक स्कोर र ३८.८ को औसतले उनको निरन्तरता देखाउँछ। ६९३ बल खेलेर उनले ११२.० को उत्कृष्ट स्ट्राइक रेट बनाएका छन्। यो फर्म्याटमा उनले पाँच अर्धशतक र ७१ चौका तथा ३५ छक्का प्रहार गरेका छन्।
टी–२० क्रिकेटमा उनले १३३ खेल खेलेका छन् जसमा १२० इनिङमा ब्याटिङ गर्दै २७ पटक अविजित रहँदै २२३२ रन बनाएका छन्। ४० को सर्वाधिक स्कोर र २४.० को ब्याटिङ औसतले छोटो फर्म्याटमा उनको योगदानलाई देखाउँछ।
१६८७ बल खेलेर उनले १३२.३ को सशक्त स्ट्राइक रेट राखेका छन्। टी–२० मा उनले आठ अर्धशतक, १८२ चौका र ९६ छक्का प्रहार गरेका छन्। विकेटकिपरको रूपमा उनले १२० इनिङमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
फर्स्ट क्लास क्रिकेटमा उनले २२० क्याच र पाँच स्टम्पिङ गरेका छन् भने लिस्ट ‘ए’ मा उनले २७ क्याच र पाँच स्टम्पिङ गरेका छन्। टी–२० फर्म्याटमा उनले ६५ क्याच र १९ स्टम्पिङ गरेका छन्।