काठमाडौं। रियल मड्रिडका फरवार्ड रोड्रिगोले स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको गुमाउने भएका छन्।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सान्टियागो बर्नाबेउमा बोरुसिया डर्टमुन्डमाथि रियलले ५–२ को जित निकाल्दा उनी ८५ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। उनलाई मांसपेशीको चोट लागेको बताइएको छ। उनको स्थानमा ओरेलियन चुआमेनी मैदान प्रवेश गरेका थिए।
पहिलो हाफमा २–० ले पछि परेको रियलका लागि लुकास भाज्क्वेजले गरेको तेस्रो गोलमा रोड्रिगोले असिस्ट गर्नुअघि नै चोट लागेको थियो । मैदान छोडेपछि रोड्रिगोले दाहिने खुट्टा बरफले सेकेका थिए।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले रोड्रिगोले शनिबार बार्सिलोनाविरुद्ध खेल्ने सम्भावना नरहेको बताएका छन्। तर, ब्राजिलका फरवार्डको शनिबारको घरेलु खेलअघि थप परीक्षण हुने अपेक्षा गरिएको छ। स्पेनिस ला लिगामा बार्सिलोनाभन्दा रियल तीन अंकले पछि छ।