पथरी। नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी फुटबल क्लब ललितपुर सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा मंगलबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड बोइज क्लबलाई २–१ ले पराजित गर्दै बुटवलले अन्तिम चारमा स्थान बनाएको हो।
मध्यान्तर अघिसम्म बनाएको अग्रता गुमाउँदा ब्रिगेडको उपाधि यात्रामा पूर्णविराम लाग्यो। बुटवलको जितमा एरिक विष्ट र ग्लोरीले गोल गरे। ब्रिगेडका सुजन डंगोलले गरेको गोल सान्त्वना बन्यो।
डंगोलले २०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, एरिकले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बुटवललाई खेलमा फर्काए।
ग्लोरीले ६२औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। एरिकको म्यान अफ द म्याच घोषित भए। बुधबार भारतको दरसिंह पाडा स्पोर्ट्स एकेडेमी र सिराहाको सलहेस फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।