सिन्धुपाल्चोक। लगातार दोस्रो जित निकाल्दै सुकुटे युवा जागरण मञ्च मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा मंगलबार भएको खेलमा सुकुटेले सेतीदेवी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो।
सुकुटेले सोमबार पहिलो खेलमा भीमटार बोइजलाई ३–१ ले पराजित गरेको थियो। सेतीदेवीले भने पहिलो खेलमा बाइ पाएको थियो। निर्धारित समयको खेलमा दुवै टोलीबाट गोल हुन सकेन। त्यसैले खेलको निर्णय पेनाल्टीबाट लिएको थियो। यस खेलको म्यान अफ द म्याच सुकुटेका गोलकिपर कृष्ण केसी घोषित भए।
सुकुटेले सेमिफाइनल प्रवेश गर्न राई बोइज एफसीसँग खेल्ने छ। राई एफसीले मंगलबार सुनकोशी ‘ए’ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सुकुटेसँगको भेट पक्का गरेको हो।
राई एफसीको जितमा सुनिल मगरले दुई गोल गर्दा पासाङ र रसिस रञ्जितकारले समान एक गोल गोल गरे। यता, पराजित सुनकोशीका लागि सञ्जीव थापा मगरले गरेको एक गोल सान्त्वना बन्यो। यस खेलको म्यान अफ द म्याच राई एफसीका सुनिल मगर घोषित भए।
अन्य खेलमा साबिक विजेता रोयल फ्यामेली वडा नम्बर ८ लाई ३–०, पोखरे युवा समाजले आयोजक मेलचौर युवा जागरण समाजलाई पेनाल्टीमा ३–१ र धार्पा युवा क्लबले सृजनशील समाजलाई ६–३ ले पराजित गर्यो।