काठमाडौं। एक वर्षपछि नेयमार व्यवसायिक लिग खेल्न मैदान फर्किएका छन्।
एसियन च्याम्पियन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा अल हिलालले युएई प्रो–लिग क्लब अल–ऐनमाथि ५–४ को जित निकालेको खेलमा उनी मैदान फर्किएका हुन्।
ब्राजिलका ३२ वर्षीय फरवार्ड नासेर अल–दासारीको स्थानमा ७७औं मिनेटमा मैदान छिरेका थिए। उरुग्वेविरुद्धको विश्वकप छनोट खेलका क्रममा घुँडाको लिगामेन्टमा चोट लागेपछि नेयमारले एक वर्षदेखि खेलेका थिएनन्। उनको गत नोभेम्बरमा शल्यक्रिया गरिएको थियो।
गत वर्षको अगस्टमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरो (९७.८ मिलियन अमेरिकी डलर) स्थानान्तरण शुल्कमा साउदी अरेबिया आएका नेयमारले मांसपेशीको चोटका कारण रेस्ट गर्नुअघि पाँच खेल मात्र खेलेका थिए। ‘मसँग जहिले पनि राम्रो टिम छ। म निकै खुसी छु। म फर्किएको छु,’ हाजा बिन जायद स्टेडियममा भएको खेलपछि भावुक भएका नेयमारले भने।