सिन्धुपाल्चोक। आर्यनकाजी थापाको दुई गोलसँगै सुकुटे युवा जागरण मञ्चले चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन 'ए' साइड फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेलचौर युवा जागरण समाजको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा सुकुटेले भीमटार बोइजलाई ३–१ ले पराजित गरेको हो। चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको दिनको पहिलो खेलमा सुकुटेको जितमा आर्यनकाजी थापाले दुई गोल र एक असिस्ट गरेका हुन्। खुमलटार एफसीबाट एन्फा यु–१६ लिगसमेत खेलिसकेका उनी प्रतियोगिताको पहिलो गोलकर्तासमेत हुन्। उनीबाहेक सुकुटेका दीपेश बस्नेताले एक गोल थपे। भीमटारका किरण माझीले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा सुकुटेका आर्यन नै म्यान अफ द म्याच चुनिए। सुकुटेले अब क्वार्टरफाइनल प्रवेश गर्न सेतीदेवी युवा क्लबसँग भिड्नेछ।
दोस्रो खेलमा सिंहमती युवा क्लबले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई सडनडेथमा ४–३ ले पराजित गर्यो। निर्धारित ४० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको हो। जसमा सिहंमतीले बाजी मार्यो। यस खेलमा सिंहमतीका रोशन थापा म्यान अफ द म्याच भए।
तेस्रो खेलमा सृजनशील युवा समाजमाथि साँगाचोक युथ क्लबले ५–० को फराकिलो जित हासिल गर्यो। साँगाचोकको जितमा सागर रामुदामुले ह्याट्रिक पूरा गर्दा आयुष तामाङले दुई गोल थपे। जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो। यस खेलको म्यान अफ द म्याच सागर घोषित भए।
यस्तै, दिनको चौथो तथा अन्तिम खेलमा वडा नम्बर–६ लाई वारियर्स एफसीले पेनाल्टी सुटआउटमा ४–५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनायो। निर्धारित ४० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जसमा वारियर्स एफसीले सफल भयो। यस खेलको म्यान अफ द म्याच वारियर्स एफसीका सुजन माझी घोषित भए।
विजेता हरेक टोलीका म्यान अफ द म्याच खेलाडीले ट्रफीसहित एक हजार रुपैयाँ प्राप्त गरे। आगामी १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ७७ हजार ७७७ रुपैयाँमा चित्त बुझाउने छन्।