काठमाडौं। सलेम अल–दौसारीले ह्याट्रिक गरेपछि साउदी अरबको अल–हिलालसँग डिफेन्डिङ च्याम्पियन अल–ऐनले एशियन च्याम्पियन्स लिग एलिटमा नाटकीय हार बेहोरेको छ।
गत अक्टोबरमा क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेका नेयमारले ७७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए। साउदी प्रो लिग क्लब हिलालले गत सिजनको सेमिफाइनलमा अल–ऐनसँग बेहोरेको हारको बदला लिएको छ। हज्जा बिन जायद स्टेडियममा सोमबार राति बदला लिनेक्रममा हिलाल ५–४ ले विजयी भएको हो।
यो जितसँगै हिलाल तीन राउन्डपछि नौ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कतारको अल–रेयानलाई २–१ ले पराजित गर्दै साउदी अरबको अल–अहलीले दोस्रो स्थान हासिल गरेको छ।
जोर्ज जिससको नेतृत्वमा रहेको हिलालले यो लगातार तेस्रो जित हात परेको हो। ९ गोलको खेलमा अल–दौसारी र अल–ऐनका सौफियान रहिमी दुवैले ह्याट्रिक गरे।
खेलको २६ औं मिनेटमा रेनान लोदीले गोल गर्दै हिलाललाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा रहिमीले बराबरी गोल फर्काए।
यद्यपि,पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै हिलालाई पुन: अग्रता दिलाए। लगत्तै दौसारीले गोल गर्दै हिलालको अग्रता ३–१ मा पुर्याए।
६३औं मिनेटमा सब्स्टिच्युट माटेओ सानाब्रियाले अल–ऐनलाई ३–२ को स्थितिमा ल्याए। तर, त्यसको ९० सेकेन्डपछि अल–दौसारीले गोल गर्दै हिलालको अग्रता ४–२ मा पुर्याए।
राहिमीले ६७ औं मिनेटमा दोस्रो गोल गर्दै अल–ऐनलाई ४–३ को रोमाञ्चक मोडमा ल्याएका थिए। तर, खेल सकिन १५ मिनेट बाँकी हुँदा दौसारीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। लगत्तै जर्ज जिससले नेयमारलाई मैदान प्रवेश गराएका थिए।
तर, अली अल बुलाहयीले ह्यान्ड बल गर्दै रातो कार्ड खाएपछि हिलालमाथि दबाब बढेको थियो। पेनाल्टी पाएपछि रहिमीले थपिएको समयको ६ मिनेटमा दौसारीले ह्याट्रिक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।