पथरी। चित्लाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बेलबारीस्थित लक्ष्मी मार्ग खेल मैदानमा सोमबार भएको खेलमा चित्लाङले धनकुटाको राजारानी फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
३ जना राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको राजारानीको अफ्रिकन खेलाडीको प्रभुत्व रहेको चित्लाङविरुद्ध कुनै जादु चल्न सकेन।अनन्त तामाङ, सनिश श्रेष्ठ र रोहन कार्की सहित अधिकांश ए डिभिजनका खेलाडी उतारेको राजारानी पहिलो हाफमै २–० गोलले पछि पर्यो। चित्लाङका लागी तिन वटै गोल अफ्रिकन खेलाडीले गरे भने राजारानीका तर्फबाट अनन्त तामाङले सान्त्वना गोल फर्काए।
पहिलो गोल अफ्रिकन खेलाडी हेनरीका नाममा रह्यो। उनले खेलको १६ औं मिनेटमा गोल गरे। दोस्रो र तेस्रो गोल रोबर्टले गरे। रोबर्टले ३३ औं र ५६ औं मिनेटमा गोल गरे। अनन्तले ६१ औं मिनेटमा जवाफी गोल फर्काए पनि जितका लागी पर्याप्त भएन।
चित्लाङका रोबर्ट म्यान अफ द म्याच घोषित भए। मंगलबार डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब काठमाडौं र एनएसएल टिम बुटबल लुम्बिनी फुटबल क्लबबीच खेल हुनेछ।