काठमाडौं। कप्तान एवम् गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई आराम दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा अन्जना रानामगरलाई गोलपोष्ट सम्हाल्ने अवसर दिएका छन्।
समूह चरणका खेलमा खेलाडीको स्तर परीक्षण तथा सबैलाई अवसर दिने प्रशिक्षकको योजनाअनुसार अन्जिलालाई आराद दिएर अन्जनालाई नेपालको गोलपोष्ट सम्हाल्ने अवसर दिएको बताइएको छ। प्रशिक्षक राजेन्द्र तामाङले गोलरहित टुंगिएको भुटानविरुद्ध पूरा समय खेलेकी अन्जनालाई नेपाली टिमबाट १८ महिनापछि दशरथ रंगशालामा गोलपोष्ट सम्हाल्ने अवसर दिएका हुन्।
२३ वर्षीया अन्जनाले पछिल्लोपल्ट ८ अप्रिल २०२३, भियतनामविरुद्ध दोस्रो हाफमा खेकी थिइन्। पेरिस ओलम्पिक २०२४ छनोटको दोस्रो खेलमा नेपाली टिम २–० ले हारेको थियो। नेपालले माल्दिभ्सविरुद्ध सहज जित हात पार्नसके अर्की गोलकिपर उषा नाथले श्रीलंकाविरुद्ध शुक्रबार हुने समूह चरणको अन्तिम खेलमा मैदानमा ओर्लने अवसर पाउनसक्छिन्।
१५ वर्षमै डेब्यु
नेपाल आर्मी क्लबकी गोलकिपर अन्जनाले नेपालले १७ डिसेम्बर २०१६ मा एन्फा कम्प्लेक्समा मलेसियाविरुद्ध १–० को जित हात पारेको खेलमार्फत् राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्। त्यसबेलाका मुख्य प्रशिक्षक कुमार थापाले एउटै खेलमा अन्जनासँगै ६ खेलाडीलाई डेब्युको अवसर दिएका थिए। यस्तोमा डिफेन्डर गीता राना, मिडफिल्डर मन्जलीकुमारी योन्जन र शर्मिला थापाले पहिलो रोजाईमै खेलेका थिए भने अन्जना, मिडफिल्डर सरु लिम्बु र निर्मला विक सब्स्टिच्युटको रुपमा मैदानमा उत्रिएका थिए।
अन्जनालाई ७५ औं मिनेटमा अन्जिलाको स्थानमा खेलाइएको थियो। त्यसयता अन्जना निरन्तर दोस्रो रोजाईका गोलकिपरको रुप्मा नेपाली टिमसँग यात्रा गरिरहेकी छन्। सजिलो खेलमा कहिलेकाहि गोलपोष्ट सम्हाल्ने अवसर पाउने गरेकी छन्।
अधिकांश खेल सब्स्टिच्युटको रुपमा खेलेकी अन्जनाको लागि माल्दिभ्सविरुद्धको खेल १३ औं क्यापको रुपमा रहेको छ। साफ महिला च्याम्पियनसिप २०१६ (सिलीगुढी, भारत) मा प्रशिक्षक कुमार थापाले समूह चरणका तीन खेलमा फरक तीन गोलकिपरलाई खेलाएका थिए। त्यसक्रममा अन्जनाले समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध १–० ले जितेको खेलमा पहिलो रोजाईमै नेपाली टिमको गोलपोष्ट सम्हाल्ने अवसर पाएकी थिइन्।