काठमाडौं। भुटानविरुद्ध गोलरहित बराबरी नेपाली महिला टिमको लागि इतिहासकै सबभन्दा खराब नतिजा थियो। त्यही पीडाबाट उक्सिने प्रयासमा नेपालले साफ महिला च्याम्पियनसिप २०२४ को दोस्रो खेलमा सोमबार माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
वास्तावमा समूह ‘बी’ को प्रतिस्पर्धामा भुटानलाई पराजित गर्दै तीन अंक जोडेको भए नेपाललाई माल्दिभ्सविरुद्ध खासै दबाब हुने थिएन। तर, त्यो बराबरीको चोटले नेपाली टिमलाई साह्रै तनाव दिएको छ। सोमबारको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४–१ ले हराएर सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनायो। यसले पनि नेपाललाई माल्दिभ्सविरुद्धको खेल जित्नैपर्ने दबाब बढाएको छ।
इतिहासको तथ्यांक र वर्तमान खेलाडीका स्तर हेर्ने हो भनेनेपालले घरेलु भुमि दशरथ रंगशालामा माल्दिभ्सलाई हसजैपराजित गर्नुपर्ने हो। तर, फुटबलको मैदानी प्रतिस्पर्धा त्यस्तो अपेक्षित पनि हुदैन। नेपाली महिला टिमले माल्दिभ्सविरुद्ध साफको तीन भेटमा गोलको बर्षात्सहित शतप्रतिशत जित हात पारेको थियो। त्यसैले सोमबार घरेलु टिमले ठूलो अन्तरको जित निकाल्न सक्दैन भन्ने पनि छैन।
डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाही भुटानविरुद्धको खेलमा घाइते भएका थिए। एसीएल इन्ज्युरी भएका यी दुईले प्रतियोगिता गुमाउने भइसक्यो। डिफेन्डर पूजा राना पनि चोटकै कारण माल्दिभ्सविरुद्ध खेल्ने छैनन्।
नेपालविरुद्ध माल्दिभ्सको खेलमा खेल परिवर्तन गर्नसक्ने दुई खेलाडी :
प्रिती राई, नेपाल
सानो कद, छरितो खेल। खासमा प्रितीको खेल यस्तै छ। उनी चलाखीपूर्ण पास र सटिक प्रहारका लागि माहिर छिन्। घुँडाको चोटमा मुक्त हुँदै फर्किएकी उनी विपक्षी खेलाडीलाई छक्याउनमात्रै होइन, आफ्नो टिमका अग्रपंक्तिका खेलाडीहरुलाई गोलका लागि उपयोगी पास उपलब्ध गराउन सँधै तयार हुन्छिन्। उनी आफै पनि गोल गर्ने खुबी भएका मिडफिल्डर हुन्।
अमिनथ लिजा, माल्दिभ्स
माल्दिभ्सले यो साफको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को हार बेहोरेको थियो। चिरपरिचित प्रतिस्पर्धीविरुद्धको खेलमा गोलकिपर अमिनथले श्रृंखलाबद्ध बचाउ नगरेको भए हारजितको त्यो अन्तर नक्कै फराकिलो हुने थियो। ठूलो जीउडालकी उनी श्रीलंकाविरुद्ध गतिलो प्रदर्शन गर्ने माल्दिभ्सका मुख्य खेलाडी थिइन्। उनी नेपालविरुद्ध पनि व्यस्त हुनेछिन् र फिफा वरीयतामा १६१ औं स्थानको टिमको लागि कस्तो प्रदर्शन गर्छिन् ? हेर्नै पर्छ।