काठमाडौं। न्युजिल्यान्डले ३२ रनको ऐतिहासिक जित हात पारेसँगै महिला क्रिकेटले नयाँ विश्व च्याम्पियन पाएको छ।
आइतबार भएको महिला टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डले डिफेन्डिङ उपविजेता दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको हो।
महिला टी–२० विश्वकप २०२४ को नवौं संस्करणको ट्रफीमा न्युजिल्यान्डको नाममा राखिएको छ। समूह चरणमा ६ अंक र प्लस ०.८७९ को नेट रनरेटका आधारमा सेमिफाइनलमा स्थान बनाएको टोलीले यस प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको हो।
यसअघि अक्टोबर १८ मा वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो। दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनायो। जवाफमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो। यसरी न्युजिल्यान्डले आफ्नो पहिलो उपाधि जितेको थियो।
उता लौरा वोल्भार्टको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनलमा हार बेहोरेको हो। पछिल्लो पटक घरेलु मैदानमा भएको टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलियासँग १९ रनले पराजित भएको थियो।
फाइनलमा न्युजिल्यान्डकी स्टार अलराउन्डर अमेलिया केरले उत्कृष्ट प्रदर्शन गरिन्। उनले पहिले ब्याटिङबाट प्रभावित गरिन्। पछि बलिङबाट आफ्नो छाप छोडे। २४ वर्षीय केरले चार चौकाको मद्दतमा ४३ रन बनाउनुका साथै तीन विकेट लिएकी थिइन्।
यस उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको अवार्ड प्रदान गरिएको थियो। साथै, उनले सम्पूर्ण प्रतियोगितामा १५ विकेट र १३५ रन बनाएकी थिइन् भने प्लेयर अफ द सिरिज पनि घोषित भइन्। उनी सन् २०२४ को महिला टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी हुन्।