काठमाडौं। नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगिन्। उनी आइतबार मध्यराति आइपुगेकी हुन्।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्राले साफ महिला च्याम्प्यिनसिप २०२४ को पहिलो खेल गुमाएकी थिइन्। उक्त खेलमा नेपाल भुटानसँग इतिहासमै पहिलोपल्ट गोलरहित बराबरीमा रोकिएको थियो।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएकी साम्बा गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध भएकी थिइन्। उनलाई यो साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि (फिफा विन्डो) मा नरहेकोले पनि क्लबले छाड्न अस्वीकार गरेको थियो।
फिफा विन्डोमा खेल नहुँदा क्लब ड्युटीमा फर्किनपरेपछि साम्बाले गत फेब्रुअरीमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको फाइनल पनि गुमाएकी थिइन्।
काठमाडौं ओर्लिएसँगै उनले माल्दिभ्सविरुद्ध सोमबार हुने खेलमा मैदानमा उत्रने बताइएको छ।