काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज कर्णाली याक्सले टेस्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ।
हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेले २८ वर्षीय हुसैन अनुबन्ध भएको जानकारी दिएका हुन्। ‘आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिएको छ,’ उनले भने, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौं।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्। कर्णालीले पहिलो विदेशी खेलाडीको रूपमा तलातलाई अनुबन्ध गरेको हो। उनी टेस्ट राष्ट्रबाट एनपिएलमा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन्। उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन्। जसमा ३९४ रन बनाएका छन्। टी–२० मात्रै १६९ खेलेका छन्। उनले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए।
कर्णाली याक्सले अक्सनबाट राष्ट्रिय टोलीका गुल्सनकुमार झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की,ट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे अनुबन्ध गरेको छ। एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ।