काठमाडौं। सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज एक खेलअगावै जितेको छ। आइतबार बिहान भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो। योसँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ।
शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको थियो। नेपालले तेस्रो तथा अन्तिम खेल मंगबलार खेल्नेछ। दोस्रो खेलमा भने नेपाललाई जित निकाल्न सुपर ओभरसम्म पर्खिन पर्यो।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले कुशल भुर्तेलको अविजित ९२ रनको मद्दतमा अमेरिकालाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो। तर, अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएयो। त्यसपछि खेल सुपर ओभरमा पुगेको हो।
अमेरिकालाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो। सोमपाल कामीले आन्द्रेस गसलाई पहिलो बलमा एक रन दिए। दोस्रो बलमा जसदीप सिंहले दुई रन लिए। तेस्रो बलमा उनले पुन: एक रन लिए। चौथो बलमा ४३ बलमा तीन चौका र चार छक्कासहित ६२ रन बनाएर खेलिरहेका गस बाउन्ड्री लाइननजिक कुशल भुर्तेलबाट क्याच आउट भए।
त्यसपछि अमेरिकालाई जितका लागि दुई बलमा तीन रन चाहिएको थियो। सोमपालले अली खानलाई पाँचौं बलमा एक रन दिए। २०औं ओभरको अन्तिम बलमा जसदीपले एक रन लिँदै खेल सुपर ओभरमा धकेले। उनी अन्तिम बलमा दुई रन लिने कोसिस गर्दा दीपेन्द्रसिंह ऐरी र विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन्।
सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिए। तर, तेस्रो बलमा सयन बोल्ड हुन पुगे। चौथो बलमा सोमपालले दीपेन्द्रबाट आरोन जोनेसलाई शून्य रनमा क्याच आउट गराए। सोमपालले सुपर ओभरमा सहित चार विकेट लिए।
त्यसपछि नेपालले तीन रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले चार बलमा कुनै विकेट नगुमाइ पूरा गर्यो। सुपर ओभरमा कुशलले एक रन बनाए। रोहितकुमार पौडेलले तीन बलमा दुई रन बनाएपछि नेपालले लगातार दोस्रो जितसहित सिरिज एक खेलअगावै जितेको हो।