इलाम। आयोजक रोलिङ क्लबले धुलाबारीमा आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ को सेमिफाइनल प्रवेश गरेको छ। उद्घाटन खेलमा सुनसरीको सशस्त्र प्रहरी बल (एपीएफ) पकलीलाई ५–२ गोल अन्तरले हराउँदै रोलिङ अन्तिम चारमा प्रवेश गरेको हो।
खेलको नवौं मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए। २५ औँ मिनेटमा आशिष चापागाईंले अग्रता दोब्बर पारे। ३३ औ मिनेटमा एपीएफका समीर दर्जीले गोल गर्दै अन्तर २–१ मा झारेका थिए। ४० औँ मिनेटमा रोलिङका कप्तान नीरज कार्कीले गोल अन्तर ३–१ बनाए।
५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे। खेलको इन्ज्युरी समयमा रोहण कार्कीले गोल गदै अन्तर ४–१ बनाए। लगतै एपिएफका कुमार राईले गोल गरे पनि जित दिलाउन पर्याप्त भएन।
प्लेयर अफ द म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए। उनले नगद पाँच हजार र ट्रफी पाए। उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण खनाल , खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ले नगद तथा ट्रफी प्रदान गरे। आइतबार हुने दोस्रो क्वार्टर फाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ।
धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन्।