काठमाडौ। नेपाली राष्ट्रिय टोलीका चार खेलाडी एएफसी यु–१७ एसियन कप छनोट वञ्चित भएका छन्।
टिम म्यानेजर बिजेन्द्र पुडासैनीका अनुसार गत महिना भुटानको थिम्पुमा भएको साफ यु–१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्तासमेत रहेका फरवार्ड सुजन डंगोलसहित डिफेन्डरद्वय जीवन गुरुङ तथा शरण एसके र मिडफिल्डर कृष्णबहादुर आले ‘बोन टेस्ट’ मा अयोग्य देखिँदा एसियन कप छनोट खेल्नबाट विञ्चित भएका हुन्।
‘सुजनसहित चार जनाको बोन टेस्ट गर्दा एएफसीले तोकेको मापदण्ड पूरा भएन। त्यही भएर उनीहरूलाई टोलीमा राख्न सकिएन,’ उनले खेलापाटीसँग भने। नेपाल साफ यु–१७ च्याम्पियनसिपमा भारतसँग ४–२ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।
समूहचरणमा सुजनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए। यस्तै, भुटानविरुद्ध ८५औं मिनेटमा निर्णायक गोल गर्दै सुजनले नेपाललाई सेमिफाइनलमा पु¥याएकमा थिए । सोही खेलमा कृष्णले पनि गोल गरेका थिए ।
कतारमा आयाेजना हुने एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यो समूहमा नेपालसँगै जापान, कतार र मंगोलिया छन्। नेपालले आफ्नो पहिलो खेल अक्टोबर २३ मा जापानसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल मंगोलियासँग अक्टोबर २७ मा खेल्नेछ।