काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२५ मा साउदी अरबमा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा सहभागी हुन कतार प्रस्थान गर्ने टोलीलाई बिदाइ गरेको छ। समूह 'एफ' मा नेपालसँगै जापान, कतार र मंगोलिया रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल अक्टोबर २३ मा जापानसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल मंगोलियासँग अक्टोबर २७ मा खेल्नेछ।
बिदाइ समारोहमा प्रमुख अतिथि तथा वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव दीपक लामा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कार्यकारी समितिका सदस्य मनिष जोशी र मणिराज विष्टले टोलीलाई राष्ट्रिय झण्डा दिएर बिदाइ गरे।
एन्फाले साजन डंगोललाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा एक घण्टामा पालैपालो खुट्टाले सबैभन्दा बढी फुटबल टच गरेको भन्दै सम्मान गरेको थियो। डंगोलले ९ हजार २ सय १८ टचसहित कीर्तिमान कायम गरेका हुन्। एन्फाले उनलाई ५० हजार प्रदान गर्ने घोषणासमेत गरेको छ।
नेपाली टोलीमा पेम्बा नुर्बु भोट, रामबहादुर बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलवट, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सविन कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुभाष बम (कप्तान), आलिक श्रेष्ठ, सविनकुमार लुंगेली मगर, रोहित श्रेष्ठ, सन्तोष गोङ्बा, रञ्जित लामा, तेन्जिङ शेर्पा र दिग्विजय शाही छन्।