काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप २०२४ का दुवै फाइनलिस्टको तय भएको छ। अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ।
दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शारजाह मैदानमा भएको दोस्रो सेमिफाइनलमा अनुभवी डिएन्ड्रा डोटिनको चार विकेटको मद्दतमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९ विकेटको क्षतिमा १२८ रनमा रोक्यो।
जवाफमा वेस्ट इन्डिजको विकेट झर्ने क्रम जारी रह्यो। डोटिनले २२ बलमा ३३ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले स्थिर सुरूआत गरेको थियो। कप्तान हेली म्याथ्यूजले १५ र क्विनाले १२ रन मात्र बनाउन सकिन्। मध्यक्रमका डोटिन क्रिजमा रहे।
उनले २२ बलमा तीन छक्काको मद्दतमा ३३ रनको इनिङ्स खेल्दै टिमलाई सघाएका थिए। १७ औं ओभरमा उनको विकेट झर्ने बित्तिकै वेस्ट इन्डिजको अवस्था बिग्रियो। यसक्रममा फ्लेचर (१७) र जाडा जेम्स (१४) ले २१ रनको साझेदारी गरे पनि जेम्सको विकेट खस्नेबित्तिकै वेस्ट इन्डिज जितबाट टाढियो।