बेलबारी। उत्सव राईको दुई गोलसँगै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको उद्घाटन खेलमा झापाले भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ ले पराजित गरेको हो। खेलको नवौं मिनेटमा प्रनेश प्रधानको गोलमार्फत अग्रता बनाएको कञ्चनजङ्घाले अग्रता जोगाउन नसक्दा पराजय बेहोर्न पर्यो।
३५ ओैं मिनेटमा झापा खेलमा फर्कियो। झापाका नीरज कार्कीले बराबरी गोल गरे। ५३औं मिनेटमा झापाका अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए। कञ्चनजङ्घाका खेलाडीहरू सम्हालिन नपाउँदै झापा ११ ले तेस्रो गोल गर्यो। ५९ ओैं मिनेटमा झापाका उत्सव राईले गोल गरे।
७० ओैं मिनेटमा उत्सवले व्यक्तिगत दोस्रो गोल गरे। उत्सवको गोलसँगै झापाले ४-१ गोल अग्रता बनायो। झापाको गोल गर्ने क्रम रोकिएन। ७६ ओैं मिनेटमा निकेश श्रेष्ठले टिमका लागि गोल गर्दै ५–१ को जित दिलाए। योसँगै पाहुना टोली पहिलो चरण बाटै खेलबाट बाहिरिएको छ। शनिबार काठमाडौंको चित्लाङ फुटबल क्लब र आयोजक एलएक्स सिटी फुटबल क्लब भिड्नेछन्।