काठमाडौं। गोलकिपर संगीता मोंगेर नायक बन्दा साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालविरुद्ध भुटानले इतिहास रचेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले दर्जन अवसर बनाएपनि गोलमा परिणत गर्न सकेन। फलतः नेपाल साफ इतिहासमै पहिलोपल्ट भुटानसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। नेपालले यसअघिका चार भेटमा भुटानमाथि सहज जित हासिल गरेको थियो।
अघिल्लो संस्करणमा भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको थियो।
सावित्रा र अनिताले समान दुई गोल गरेकी थिइन्। सावित्रा शुक्रबार भुटानविरुद्ध हुने खेलमा उपस्थित थिएनन्। फ्रान्सेली क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनी आइतबार मात्रै नेपाल ओर्लिने छिन्। उनको स्थानमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रश्मिकुमारी घिसिङलाई आक्रमणको जिम्मेवारी दिएका थिए। रश्मि एन्फा महिला लिगको पहिलो चरणको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले ९ खेलमा १८ गोल गरेकी थिइन्।
तर, साफमा भने उनले उस्तै प्रदर्शन पस्किन सकिनन्। त्यसैले उनको स्थानमा तामाङले ४६औं अनिता बस्नेतलाई ल्याएका थिए। उनी पनि प्रभावकारी देखिनन्।
साफ माहिला च्याम्पियनसिपमा नेपाल र भुटानको पहिलो भेट सन् २०१४ मा समूहचरणमा भएको थियो। उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो। सोही खेलमार्फत सावित्राले साफमा डेब्यु गरेकी थिइन्। उनले ८८औं मिनेटमा गोल गरेकी थिइन्।
त्यसको दुई वर्षपछि भारतमा भएको चौथो संस्करणको साफमा पनि नेपाल र भुटान समूहचरणमै भिडेका थिए। उक्त खेलमा सावित्रा एक्लैले ६ गोल गरेकी थिइन्। सर्मिला थापा र क्रिस्ना खत्रीले दुई गोल थपेपछि नेपालले ८–० को फराकिलो जित हात पारेको थियो। उक्त प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी सावित्राले १२ गोल गरेकी थिइन्। तर, नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो।
त्यसयता नेपालले दुई संस्करणको साफ आयोजना गरेको थियो। घरेलु दर्शकको बलियो साथ पाएपनि भुटानविरुद्ध नेपालले पहिला झैं बलियो प्रदर्शन गर्न सकेको छैन। सन् २०१९ मा विराटनगरको शहिद रंगशालामा भएको साफमा नेपाल र भुटान तेस्रोपल्ट आमुन्नेसामुन्ने भएका थिए। उक्त खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो। दशरथ रंगशालामा भएको गत संस्करणमा पनि नेपालले भुटानलाई ४–० ले हराएको थियो।
अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले २३ गोल गरेको थियो। तर, एक गोल पनि बेहोर्न परेको थिएन। याे रेकर्ड भने नेपाल कायम राख्न सफल भएकाे छ।