काठमाडौं। कठिन जितका साथ श्रीलंकाले साफ महिला च्याम्पियनसिप २०२४ मा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको समूह बी को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको हो। श्रीलंकाको लागि इमिशा अनुराधिनीले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै श्रीलंकाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।
खेलको सुरुआतीदेखि नै माल्दिभ्सविरुद्ध आक्रमक देखिएको श्रीलंकाले १८औं मिनेटमा अग्रता लियो। कोश्वाथागे परेरको क्रसमा इमिशा अनुराधिनीले हेडर गर्दै गोलमा परिणत गरिन्।
३३औं मिनेटमा इमिशाको दुई प्रयासलाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले विफल बनाइदिइन्। इमिशाले एक्लो प्रयासमा पेनाल्टी बक्स बाहिरबाट गरेको पहिलो प्रहारलाई लिजाले ड्राइभ गर्दै बचाएकी थिइन्।
उक्त बललाई श्रीलंकाली डिफेन्डरले क्लियर गर्दा इमिशाले नै बल प्राप्त गरेकी थिइन्। उनको दोस्रो प्रयासलाई लिजाले पञ्च गर्दै माथिल्लो बारबाट बाहिर पठाइदिइन्।
३७औं मिनेटमा श्रीलंकाले अर्को मौका खेल फ्याल्यो। सिभानीसोरण थर्मिकाले बक्सबाहिरबाट गरेको प्रहार लिजाले पुन: पञ्च गर्दै बचाइन्। ४२औं मिनेटमा श्रीलंकाकी परेराले अर्को मौका गुमाइन्।
उनले बक्सभित्रबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन। ४७औं मिनेटमा श्रीलंकाले खेलमा फर्किने अवसर गुमायो। रानिया इब्राहिमको प्रहार माल्दिभ्सकी गोलकिपरले बचाइन्। त्यसपछि दुवै टोलीले केही अवसर बुनेपनि गोलमा परिणत गर्न सकेनन्।