काठमाडौं। ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो पटक अस्ट्रेलियालाई पराजित गरेको हो। यी दुई टोलीले सन् २०२३ मा फाइनल खेलेका थिए, जसमा अस्ट्रेलिया १९ रनले विजयी भएको थियो। अब दक्षिण अफ्रिकाले आइतबार न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
प्लेयर अफ द म्याच बनेकी दक्षिण अफ्रिकाका एनेके बोस्चले सर्वाधिक ७४ रन बनाइन्। अविजित रहेकी उनले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पूरा गरेको थियो। योसँगै आठौं पटक फाइनलमा प्रवेश गर्ने अस्ट्रेलियाको सपना चकनाचुर भयो।
यसअघि ब्याटिङको निम्तो पाएपछि सुस्त सुरुआत गरेको अस्ट्रेलियन टोलीले ५ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाले सन् २००९ देखि सुरु भएको प्रतियोगिताका सबै नौ संस्करणमा सेमिफाइनल खेलेको छ।
कप्तान लौरा वोल्भार्ट (४२ रन) र बोस्चले दोस्रो विकेटका लागि ६५ बलमा ९६ रनको आक्रामक साझेदारी गर्दै दक्षिण अफ्रिकाको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
वोल्भार्टले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने ताज्मिन ब्रिट्सले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाइन्। दक्षिण अफ्रिकाका दुवै विकेट एनाबेल सदरल्यान्डले लिएकी थिइन्।
यसअघि अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान बेथ मुनीले सर्वाधिक ४४ रन बनाउँदै अस्ट्रेलियाको स्कोरबोर्डमा निर्धारित २० ओभरमा १३४ रन पुर्याएका थिए। कप्तान ताहलिया म्याकग्राथले २७ रनको योगदान दिए। अन्त्यमा एलिस पेरीले २३ बलमा ३१ रन र फोबी लिचफिल्डले ९ बलमा अविजित १६ रनको योगदान दिइन्।
अस्ट्रेलियाले अन्तिम ४ ओभरमा ४० रन जोडेको थियो । बलिङतर्फ दक्षिण अफ्रिकाका आयाबोन्गा खाकाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। मारिजाने क्याप र नोनकुलुलेको म्लाबाले समान १–१ विकेट लिए ।