काठमाडौं। भारतले साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलको पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ। त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पाकिस्तानविरुद्ध ४-१ को अग्रता लिएको हो।
खेलको पाँचौं मिनेटमै भारतले सुरुआती अग्रता लियो। ग्रेइस डान्गमेइले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई पाकिस्तानी गोलकिपर निशा असरफले बचाउने अवसर पाएनन्।
१७औं मिनेटमा भारतले अग्रता दोब्बर बनायो। एकल प्रयासमै मनिशाले गोल गर्न सफल भइन्। उनलाई डिफेन्डरले समेत रोक्न सकेनन्। सुरुमै दुई गोलको अग्रता लिएपछि भारतले प्रेसिङमा चार खेलाडीलाई राखेको थियो। २८औं मिनेटमा चानु सोरोखाइबमको क्रसमा बालदेवीले हेडिङ गरेकी थिइन्।
तर, ५० अन्तर्राष्ट्रिय गोलनजिक रहेकी बालको हेडिङलाई निशाले विफल पार्दिइन्। ३५औं मिनेटमा आफ्नै खेलाडीले दिएको ब्याक पासलाई निशाले समातेपछि नेपाली रेफ्री अञ्जना राईले इन्डाइरेक्ट फ्रिकक दिएकी थिइन्। जसमा बालादेवीले गोल गरिन्। योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा गोल संख्या हाफ सेञ्चुरीमा पुर्याइन्।
४३औं मिनेटमा भारतले अर्को गोल थप्यो। भारतीय खेलाडीले प्रहार गरेको बल पाकिस्तानी कप्तान मारिया खानलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो। तर, पहिलो हाफको इन्जुरीमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत टप कर्नरमा गोल गर्दै खेल ४-१ मा ल्याइन्।